काठमाडौं,२० पुस । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न अन्तिम तयारी गरेको छ। आईपीओ प्रक्रिया औपचारिक रूपमा अघि बढाउन कम्पनीले आगामी माघ ५ गते विशेष साधारण सभा आह्वान गरेको हो।
काठमाडौँको नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्समा आयोजना हुने उक्त सभाले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने प्रस्तावलाई मुख्य एजेन्डाका रूपमा पारित गर्नेछ। यसअनुसार कम्पनीले कुल १५ करोड रुपैयाँ बराबरको सेयर बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले आईपीओ बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ।
विशेष साधारण सभाले आईपीओ निष्कासनसँगै कम्पनीको सेयर संरचना परिवर्तन गर्ने तथा सोहीअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावहरूमाथि समेत निर्णय गर्नेछ। स्थापना भएको तेस्रो वर्षदेखि नै लगातार छ वर्षसम्म खुद मुनाफा आर्जन गर्दै आएको कम्पनीको वित्तीय अवस्था सुदृढ देखिएको छ।
नेक्सजेनको हाल अधिकृत पुँजी १ अर्ब रुपैयाँ र जारी पुँजी ५० करोड रुपैयाँ रहेको छ। बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन र कर्पोरेट एडभाइजरी सेवामा विशिष्ट पहिचान बनाएको कम्पनीले गत वर्ष आफ्ना लगानीकर्तालाई नगद लाभांशसमेत वितरण गरेको थियो। यस वर्षको नाफा जगेडा कोषमा राखेर नेटवर्थ थप मजबुत बनाइएकाले आईपीओप्रति लगानीकर्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
विशेष सभाले सर्वसाधारण समूहका लागि जारी तथा चुक्ता पुँजी समायोजन गर्ने, निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीका तर्फबाट प्रतिनिधि मनोनयन गर्ने लगायतका प्रशासनिक विषयहरूलाई पनि टुंगो लगाउनेछ। अनुभवी व्यवस्थापकहरूको टोलीद्वारा सञ्चालित कम्पनी दोस्रो बजारमा नयाँ प्रकृतिको सेवा प्रदायक क्षेत्रको प्रतिनिधित्व गर्ने भएकाले यसको सेयर निष्कासनलाई पुँजी बजारमा अर्थपूर्ण रूपमा हेरिएको छ।
विशेष साधारण सभाबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमति प्रक्रिया अघि बढाउनेछ। त्यसपछि तत्कालै आईपीओ निष्कासन प्रक्रिया सुरु हुने कम्पनीका प्रबन्ध संचालक रमेश कुमार भट्टराईले जानकारी दिए।

