काठमाडौं । माघ महिनामा पनि अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह न्यून भएपनि बैंकहरूले ब्याजदर घटाएका हुन् ।
माघ महिनाका लागि २० वटा वाणिज्य बैंकले तय गरेकाे ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ०.१५ प्रतिशतले घटेर ४.६८ प्रतिशतमा झरेको छ। यसअघि पुस महिनामा औसत ब्याजदर ४.८६ प्रतिशत रहेको थियो।
माघका लागि ११ वटा बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ८ वटा बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। यद्यपि प्राइम बैंकले भने माघमा ब्याजदर वृद्धि गरेको छ।
कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र सानिमा बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन्।
त्यसैगरी नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले ब्याजदर स्थिर राखेका छन्।
प्राइम बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.१५ प्रतिशतले बढाएर ४.४० प्रतिशत पुर्याएको छ। पुस महिनामा बैंकले व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो। यद्यपि संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने बैंकले यथावत् राखेको छ।
बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा तुलनात्मक रूपमा कम र लामो अवधिका निक्षेपमा केही बढी ब्याजदर दिने गरेका छन्।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जा विस्तार हुन नसक्दा ब्याजदर घट्दो क्रममा रहेको देखिन्छ। यसैबीच नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन र अन्तरबैंक ब्याजदर सन्तुलनका लागि बोन्ड, स्थायी निक्षेप सुविधा लगायतका मौद्रिक उपकरण प्रयोग गरी प्रणालीबाट तरलता खिच्दै आएको छ।
कुनकाे कति ?
| बैंकको नाम | व्यक्तिगत (%) | संस्थागत (%) |
|---|---|---|
| कृषि विकास बैंक | ४.५० | २.७५ |
| एभरेष्ट बैंक | ४.५० | ३.५० |
| नेपाल बैंक | ५.१० | ३.२५ |
| कुमारी बैंक | ४.५३ | ३.५० |
| नेपाल एसबीआई | ४.५० | २.५० |
| लक्ष्मी सनराइज बैंक | ४.५० | ३.२५ |
| ग्लोबल आइएमई बैंक | ५.५० | २.७५ |
| प्राइम बैंक | ४.५० | २.७५ |
| सिटिजन्स बैंक | ४.५० | ३.०० |
| प्रभु बैंक | ४.५५ | २.७५ |
| माछापुच्छ्रे बैंक | ४.५० | ३.०० |
| एनएमबि बैंक | ५.०० | ४.०० |
| स्ट्यान्डर्ड चार्टर्ड बैंक | ४.३५ | २.७५ |
| हिमालयन बैंक | ५.०० | ४.०० |
| सिद्धार्थ बैंक | ४.५५ | ३.७५ |
| नबिल बैंक | ४.५५ | ३.५५ |
| सानिमा बैंक | ४.५५ | ३.३० |
| राष्ट्रिय वाणिज्य बैंक | ५.०० | ४.०० |
| एनआईएमबि बैंक | ५.०० | ४.०० |
| एनआईसी एशिया बैंक | ५.०० | ४.०० |
| औसत ब्याजदर | ४.६८% | ३.३६% |



