पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको चुनावी अभियान तीव्र

spot_img

वीरगन्ज,०९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेका उम्मेदवार रूपेश पाण्डेले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। उम्मेदवारी दर्ता गरेसँगै उनी मतदाताको घरदैलोमा पुगेर प्रत्यक्ष संवादमार्फत चुनावी प्रचार–प्रसारमा सक्रिय देखिएका छन्।

स्थानीय विकास, रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणलाई प्राथमिक एजेन्डा बनाएका पाण्डेले जनतासँग भेटघाट गर्दै उनीहरूका समस्या सुन्नुका साथै समाधानका ठोस योजनाहरू प्रस्तुत गरिरहेका छन्। व्यवहारिक सोच, व्यवसायिक अनुभव र संगठनात्मक क्षमताका कारण उनी परिणाममुखी र जिम्मेवार नेताका रूपमा उभिँदै गएको स्थानीयको भनाइ छ।

घरदैलो अभियानका क्रममा पाण्डेले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेका छन्। जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दामा केन्द्रित अभियानले मतदातामाझ सकारात्मक सन्देश प्रवाह भइरहेको देखिन्छ।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी, नेकपा (एकीकृत समाजवादी) का छोटेलाल यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकान्त चौरसिया तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीनकुमार सिंह प्रतिस्पर्धामा रहे पनि एमाले उम्मेदवार पाण्डेप्रति युवापुस्ता सहित विभिन्न वर्गको आकर्षण बढ्दै गएको बताइन्छ। स्थानीयवासीहरूले विकासमा स्पष्ट दृष्टिकोण, इमानदार नेतृत्व र स्थायित्वको पक्षमा मतदान गर्ने अपेक्षा व्यक्त गरिरहेका छन्।

नेकपा एमालेले अघि सारेको सुशासन, स्थिरता र समृद्धिको राष्ट्रिय एजेन्डालाई स्थानीय आवश्यकतासँग जोडेर प्रस्तुत गरिरहेका पाण्डेको सक्रिय चुनावी अभियानले पर्सा–३ को निर्वाचनलाई थप चासोपूर्ण बनाएको छ। बढ्दो जनसमर्थन र निरन्तर उपस्थितिका कारण एमाले समर्थकहरू पर्सा–३ मा जितप्रति आशावादी देखिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय