पर्सा–१ मा चुनावी चहलपहल, पुराना र नयाँ दावेदारको प्रतिस्पर्धा

spot_img

वीरगन्ज,०९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा–१ मा चुनावी सरगर्मी तीव्र बनेको छ। पुराना राजनीतिक दलका अनुभवी उम्मेदवारसँगै नयाँ अनुहार र स्वतन्त्र विचार बोकेका उम्मेदवारले यस क्षेत्रको प्रतिस्पर्धा रोचक बनाएका छन्।

होटेल तथा पर्यटन व्यवसायी बुद्धिबहादुर पन्त (हरी पन्त) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट ‘जेनजी आन्दोलन’का मुद्दा लिएर मतदाताको घरदैलो अभियानमा सक्रिय छन्। उनी युवाकेन्द्रित एजेन्डा, सुशासन र नयाँ राजनीतिक संस्कृतिको नारासहित प्रचार–प्रसारमा जुटेका छन्।

यस्तै, नेकपा एमालेबाट दल परिवर्तन गर्दै यसपटक उम्मेदवारी दर्ता गरेका पूर्वमन्त्री प्रदीप यादव लगातार तेस्रो पटक निर्वाचन जित्ने रणनीतिमा छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजय भोगेका यादवले २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट जीत हासिल गरेका थिए।

नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटा भने लामो समयदेखि प्रतिनिधिसभा निर्वाचनमा जितविहीन अवस्थालाई तोड्ने लक्ष्यसहित मैदानमा आएका छन्। उनी २०७४ सालमा जसपाका प्रदीप यादवसँग पराजित भएका थिए र यसपटक फेरि सोही प्रतिस्पर्धामा उत्रिएका छन्।

यसैबीच, जसपाले नयाँ अनुहारलाई पर्सा–१ बाट उम्मेदवार बनाएको छ। पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव यस चुनावमा सहभागी छन्। यादव २०७९ को निर्वाचनमा पर्सा–२ (ख) बाट प्रदेशसभा सदस्यको चुनावमा कांग्रेसका उम्मेदवारसँग केवल १,६५७ मतान्तरले पराजित भएका थिए।

युवा नेता रामकिशोर सिंह (पराग) उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन्। उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा १ मतको सानो अन्तरले हार भोगेका थिए भने २०७९ मा ४१४ मतान्तरले जित हासिल गरी आफ्नो राजनीतिक उपस्थिति मजबुत बनाएका थिए।

नयाँ र पुराना उम्मेदवारबीचको कडा प्रतिस्पर्धा, दल परिवर्तनको प्रभाव र मतदाताको बदलिँदो चाहनाले पर्सा–१ को निर्वाचन यसपटक अझै रोचक र ध्यानाकर्षक बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय