spot_img

निर्वाचनमा राष्ट्रिय झन्डाको सम्मान कायम राख्न कांग्रेसको निर्देशन

spot_img
spot_img

काठमाडौं,१२ माघ । नेपाली कांग्रेसले आसन्न निर्वाचनमा राष्ट्रिय झन्डाको प्रयोग मर्यादित र सम्मानजनक बनाउने उद्देश्यले मातहतका सबै पार्टी संरचनालाई पाँच बुँदे विशेष परिपत्र जारी गरेको छ।

निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले सातै प्रदेश, ७७ जिल्ला र सबै निर्वाचन क्षेत्रलाई पत्र पठाउँदै निर्वाचन प्रचार–प्रसारका क्रममा राष्ट्रिय झन्डा प्रयोग गर्दा विशेष सावधानी अपनाउन निर्देशन दिनुभएको हो। पार्टी पङ्क्तिलाई प्रचार अभियानमा १० भन्दा बढी झन्डा प्रयोग नगर्न सचेत गराइएको छ।

परिपत्रमा राष्ट्रिय झन्डाको गरिमा र राष्ट्रिय गौरवलाई मध्यनजर गर्दै, यसलाई कुनै पनि व्यक्तिको शरीरमा ओढाउने वा ज्याकेट, मफलर जस्ता रूपमा प्रयोग नगर्न कडाइका साथ भनिएको छ। उपसभापति शर्माले झन्डा ओढाउने कार्य केवल मृत्युको शोकमा मात्र गरिने संस्कार भएको स्मरण गराउँदै उम्मेदवार वा प्रचारकले पाखुरा, कम्मर वा घाँटीमा झन्डा बेरेर हिँड्नु राष्ट्रिय झन्डाको अपमान हुने उल्लेख गर्नुभएको छ।

यसैगरी, चुनावी कार्यक्रम स्थल, प्रचार कार्यालय तथा सवारी साधनमा राष्ट्रिय झन्डा राख्दा पार्टी झन्डाभन्दा माथि नहुने गरी व्यवस्थालाई अनिवार्य पालना गर्न भनिएको छ। कांग्रेसले झन्डाको सम्मान र आचारसंहिताको पालना दुवै दृष्टिले, यसलाई शरीरमा बेर्ने वा ज्याकेटजस्तो बनाएर लगाउने कार्य नगर्न र गर्न नदिन आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ।

पार्टीको विश्वास अनुसार, यस कदमले निर्वाचनको समयमा राष्ट्रिय प्रतीकको उचित सम्मान कायम राख्दै सभ्य चुनावी प्रतिस्पर्धा को सन्देश दिनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय