spot_img

दक्षिण कोरियाली सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

spot_img
spot_img

काठमाडौं,१३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ बढाएर २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन्। हाल १५ प्रतिशत रहेको ट्यारिफ कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लागू हुने गरी वृद्धि गरिने उनले बताएका छन्।

ट्रम्पले यो निर्णय सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’ मार्फत सार्वजनिक गर्दै यसलाई ‘रेसिप्रोकल ट्यारिफ’ को संज्ञा दिएका छन्। कुनै देशले अमेरिकी वस्तुमा उच्च आयात शुल्क लगाउँछ भने अमेरिकाले पनि त्यही देशबाट आउने सामानमा समान रूपमा उच्च ट्यारिफ लगाउने नीति नै रेसिप्रोकल ट्यारिफ भएको उनको भनाइ छ।

दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौता ठीकसँग कार्यान्वयन नगरेको आरोप लगाउँदै ट्रम्पले ट्यारिफ बढाउने निर्णय गरेका हुन्। उनका अनुसार दक्षिण कोरियाली संसदले उक्त सम्झौतामा अनुमोदन दिन ढिलाइ गरेको छ, जबकि अमेरिकाले सम्झौताअनुसार आफ्ना ट्यारिफ छिटो घटाइसकेको दाबी ट्रम्पले गरेका छन्।

तर दक्षिण कोरियाले भने अमेरिकी निर्णयबारे आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। यस विषयमा अमेरिकासँग तत्काल वार्ता आवश्यक रहेको दक्षिण कोरियाको धारणा रहेको बीबीसीले जनाएको छ।

अमेरिकाले दक्षिण कोरियाबाट मुख्यत: औद्योगिक तथा उच्च प्रविधिका सामान आयात गर्ने गर्दछ। कार तथा अटो पार्ट्स (हुन्डाई, किआजस्ता ब्रान्डका गाडी र पार्ट्स), सेमिकन्डक्टर (चिप), मोबाइल फोन, टेलिभिजन, डिस्प्ले प्यानल, भारी मेसिन, स्टिल, रासायनिक कच्चा पदार्थ, औषधि, मेडिकल उपकरण, जहाज तथा समुद्री उपकरण, लिथियम ब्याट्री र इलेक्ट्रिक गाडीका कम्पोनेन्टहरू प्रमुख आयात वस्तुमा पर्छन्।

यी क्षेत्रमा ट्यारिफ वृद्धि हुँदा दुवै देशका उद्योग र उपभोक्तामा प्रत्यक्ष असर पर्न सक्ने विश्लेषकहरूको आँकलन छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय