काठमाडौं,१३ माघ । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छन्। उनले आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्गको प्रगति अवलोकन गर्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिएकी हुन्। प्रधानमन्त्री कार्कीले यसका लागि आवश्यक सबै सहयोग सरकारले उपलब्ध गराउने पनि स्पष्ट गरिन्।
काठमाडौं–तराई द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो। काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने करिब ७१ किलोमिटर लामो यो मार्ग रणनीतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। आयोजनाको व्यवस्थापन र निगरानी नेपाली सेनाले गर्दै आएको छ।
यद्यपि, मार्गको निर्माण समयमै सम्पन्न गर्न नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता चुनौतीहरूले योजना प्रभावित पारेको छ। हालसम्मको समष्टिगत भौतिक प्रगति २०८२ असार मसान्तसम्म ४२.१३ प्रतिशत पुगेको छ। प्रधानमन्त्री कार्कीले निरीक्षणको क्रममा निर्माण कार्य तीव्र पार्न आग्रह गर्दै परियोजनाको गुणस्तरीयता र समयसीमा दुवै सुनिश्चित गर्न आग्रह गरेकी छन्।



