spot_img

बागमती नदीमा सशस्त्र प्रहरीद्वारा जलजन्य विपद् उद्धार अभ्यास सम्पन्न

spot_img
spot_img

रौतहट,०५ असार । वर्षायाममा हुन सक्ने बाढी तथा डुबानजन्य विपद्का घटनामा प्रभावकारी उद्धार कार्य सुनिश्चित गर्ने उद्देश्यले रौतहट र सर्लाही जिल्लाको सिमानामा पर्ने बागमती नदीमा जलजन्य विपद् उद्धारसम्बन्धी सिमुलेसन अभ्यास सम्पन्न गरिएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ र सर्लाहीको बागमती नगरपालिका–११ स्थित नुनथर क्षेत्रमा आयोजित उक्त अभ्यास मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको समन्वय तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले अभ्यासको अवलोकन गरेका थिए। कार्यक्रममा रौतहट र सर्लाहीका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

वर्षायाममा मधेस प्रदेशका विभिन्न जिल्लामा बाढी र डुबानका घटनाहरू बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको अभ्यासमा नदीमा अचानक आएको बाढीमा फसेका नागरिकहरूको उद्धार कसरी गर्ने भन्ने विषयलाई व्यवहारिक रूपमा प्रस्तुत गरिएको थियो। अभ्यासमार्फत विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा उपाय तथा उद्धार प्रक्रियाबारे जानकारी दिइएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहट तथा सुरक्षा बेस सुन्दरपुर चोहडवा, सर्लाहीबाट खटिएको विपद् व्यवस्थापन तालिमप्राप्त विशेष टोलीले अभ्यास सञ्चालन गरेको थियो। टोलीले तीव्र बहावमा फसेका व्यक्तिहरूलाई विभिन्न उद्धार उपकरण तथा आधुनिक प्रविधिको प्रयोग गरी सुरक्षित स्थानमा पुर्‍याउने सीप प्रदर्शन गरेको थियो।

यस प्रकारका अभ्यासले विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायको तयारी तथा समन्वय क्षमता अभिवृद्धि गर्नुका साथै सम्भावित प्राकृतिक विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय