सिरहा,१३ माघ । सिरहाको गोलबजार नगरपालिका–३ जमदहकी १६ वर्षीय निशा बानियाँको शव अस्पतालबाट हराएको विषयमा आफन्तहरूले मंगलबार पुनः सडकमा प्रदर्शन गरेका छन्। यसअघि सोमबार साँझ पनि पीडितका आफन्तले सडक अवरुद्ध पार्दै विरोध प्रदर्शन गरेका थिए।
पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको शव हराएपछि स्थानीयले अस्पताल प्रमुखसहित सम्बन्धित निकायलाई कारबाहीको माग गरेका छन्। गत माघ १० गते आफ्नै घरमा मृत फेला परेकी किशोरीको शव इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक मृत्युको मुचुल्कासहित पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो। तर उनका बुबा–आमाले रोजगारीको कारण भारतमा रहेकाले सोमबार आएर शव लिन अस्पताल पुगेका बेला शव फेला परेन।
स्थानीय शिक्षक समर भण्डारीले पोस्टमार्टमसमेत नभएको शव हराउनु अस्पताल र प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको बताएका छन्। उनले अस्पताल प्रमुख र प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।
सोमबार विरोध प्रदर्शन गरेका वडाध्यक्ष धनप्रसाद लामाले चेतावनी दिएका छन्, “मंगलबार बिहान १० बजेभित्र शव उपलब्ध नगराए पुनः सडकमा उत्रिने छौं।” प्रदर्शनका क्रममा स्थानीयले शव खोजी र दोषीलाई कारबाहीको सुनिश्चितता गर्न प्रशासनमाथि दबाव जारी राखेका छन्।



