काठमाडौं,१५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सीटीस्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा उपकुलपति डा. संगीता सिंह भण्डारीसहित २० जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरू माथि सात करोड ३१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ।
मुद्दा दायर व्यक्तिहरूमध्ये प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार, निर्देशक, रेडियोलोजी विभाग प्रमुख, बायोमेडिकल इन्जिनियर, शाखा अधिकृत, लेखा अधिकृत, सूचना प्रविधि अधिकृत, फिजियोथेरापिस्ट, फार्मेसी सुपरभाइजर र केही स्टाफ नर्स पनि समावेश छन्।
अख्तियारका अनुसार सीटीस्क्यान मेसिन खरिदका लागि कुनै योजना वा तयारी नगरी प्रत्यक्ष खरिद गरिएको थियो, जसमा अनियमितता र भ्रष्टाचार भएको प्रमाणित भएको छ। त्यसैगरी, मेसिन आपूर्ति गर्ने कम्पनी हिमालयन मेडिटेक प्रालि र त्यसका सञ्चालकहरू अमर श्रेष्ठ र सञ्जु राजकर्णिकारमाथि समेत मुद्दा दायर गरिएको छ।

