भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

spot_img

काठमाडाैं,१८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका लागि पहिले नै सम्झौता गरेको दाबी गरेका छन्। साथै उनले चीनलाई पनि भेनेजुएलाको तेल किन्न स्वागत रहेको बताएका छन्।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भारत चाँडै भेनेजुएलाबाट तेल आयात गर्ने योजना बनाएको उल्लेख गर्दै इरानबाट तेल किन्नुको सट्टा यस विकल्प रोज्ने बताएका छन्। उनले भने, “हामीले पहिले नै सम्झौताको ढाँचा तयार पारिसकेका छौँ। भारत आउँदैछ र भेनेजुएलाबाट तेल किन्न लागेका छन्। चीनलाई पनि स्वागत छ।” हालसम्म भारत सरकारले ट्रम्पको यस टिप्पणीबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

ट्रम्पले यसअघि दाबी गरेका थिए कि भेनेजुएलाले अमेरिकालाई पाँच करोड ब्यारेल तेल प्रस्ताव गरेको छ, जसको मूल्य करिब पाँच अर्ब २० करोड अमेरिकी डलर पर्नेछ। उनले अन्तरिम सरकारसँग अमेरिकाको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै भने, “हामी अन्तरिम राष्ट्रपतिसँग र अन्य सम्बद्ध व्यक्तिहरूसँग राम्रो सम्बन्धमा छौँ। धेरै दबाब कम भएको छ।”

अमेरिकाले भेनेजुएलाको तेलको पहिलो बिक्री करिब ५० करोड अमेरिकी डलरमा गरेको र प्राप्त रकम अमेरिकी सरकारको नियन्त्रणमा रहेको बैंक खातामा राखिएको समाचार संस्थाहरुले जनाएको छ। ट्रम्पका अनुसार भेनेजुएलाको तेल र अन्य स्रोतमा पूर्ण पहुँच सुनिश्चित गर्न वासिङ्टनले सहयोग जारी राख्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय