काठमाडौँ,१९ माघ । मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। मुद्दा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासमा सुनिने भएको हो।
सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीमाथि आरोप छ कि उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्नो सचिवमार्फत झिकेर आफ्नै र श्रीमतीको संयुक्त खातामा हालेर हिनामिना गरेको थियाे ।
सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, विभादेवी खत्वे, शम्भुकुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीमाथि पनि भ्रष्टाचारको आरोप छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा देखिएको छ कि सिंहले प्रदेशसभा सदस्य विकास कोष अन्तर्गत रामगोपालपुर, मनराशिसवा र सम्सी गाउँपालिकामा विकासका लागि विनियोजन भएको रकमबाट कमिसन लिएको आरोप छ। यस क्रममा विभिन्न मन्दिर, धर्मशाला र सडक स्तरोन्नति परियोजनामा रहेका उपभोक्ता समितिहरूको खातामा जम्मा भएको रकमबाट उनी र उनकी पत्नीले ३८ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम आफ्नो खातामा भरेको देखिएको छ।
अख्तियारको अभियोगपत्र अनुसार, कुल १ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम मध्ये करिब २८ प्रतिशत दरले सिंहद्वारा कमिसन लिइएको दाबी गरिएको छ।

