सर्लाही,२३ माघ । सर्लाहीको लालबन्दी बजारस्थित छिमेक लघुवित्त वित्तीय संस्थाको शाखामा बिहीबार अपराह्न लुटपाट भएको छ। लालबन्दी नगरपालिका–७ मा रहेको शाखा कार्यालयमा अपराह्न करिब ४ बजेतिर मुखमा कालोपट्टी बाँधेर आएका चारदेखि पाँच जनाको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हरिवन नगरपालिका–१० की कल्पना थापा ऋण रकम लिएर बाहिर निस्कँदै गर्दा लुटेरा समूहले उनीसँग रहेको ८५ हजार रुपैयाँ तथा लघुवित्तका एक कर्मचारीसँग रहेको दुई हजार रुपैयाँ लुटेर फरार भएको हो। लुटपाटका क्रममा लुटेराहरूले कर्मचारी र सेवाग्राहीलाई चक्कु देखाएर आतंक सिर्जना गरेका थिए। घटनामा चक्कु प्रहारबाट एक कर्मचारी सामान्य घाइते भएका छन्।
लुटेरा समूहले कर्मचारीलाई कार्यालयभित्र थुनेर सीसीटिभीको हार्डडिस्कसमेत साथमा लगेको सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए। उनका अनुसार घटनाबारे अनुसन्धान जारी रहेको छ।
शुक्रबार बिहानसम्म घटनामा संलग्न व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। प्रमुख व्यापारिक केन्द्र लालबन्दीमै लुटपाटको घटना भएपछि स्थानीय सर्वसाधारण तथा बैंक तथा वित्तीय क्षेत्रमा त्रास फैलिएको छ।

