जनकपुर,२३ माघ । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा सडक छेउमा फालेको अवस्थामा करिब २५ वर्षकी महिलाको शव फेला परेको छ। प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार महिलाको टाउकोमा चोट रहेको देखिएको छ, जसबाट हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ। घटना हिजो रातिको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
आज बिहान स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

