झापा,२५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा वेद र नेपालका प्राचीन सभ्यताबाट निर्देशित भएको बताएका छन् ।
धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल पाँच हजार वर्ष पुरानो गौरवशाली इतिहास बोकेको देश भएको उल्लेख गरे । उनले नेपालमा विकसित ज्ञान, विज्ञान र दर्शनको परम्परा विश्वकै अग्रणी रहेको दाबी गर्दै त्यसैको आधारमा आधुनिक समृद्धिको अवधारणा अघि सारिएको बताए ।
ओलीले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने वैदिक मन्त्र नै आजको सन्दर्भमा समृद्ध समाज निर्माणको मूल आधार भएको उल्लेख गरे । सम्बोधनका क्रममा उनले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बीचको भिन्नता प्रस्ट्याउँदै सनातन परम्परालाई नेपालको मौलिक सभ्यता र पहिचानका रूपमा व्याख्या गरे ।
‘हिन्दु राष्ट्र’ भन्ने अवधारणा पछिल्ला शताब्दीमा विकसित भएको बताउँदै उनले सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सांस्कृतिक सम्पत्ति भएको धारणा व्यक्त गरे ।
अध्यक्ष ओलीले चिकित्सा विज्ञान, विशेषगरी शल्य चिकित्सा (सर्जरी) को सुरुआत नेपालकै भूमि वा वैदिक सभ्यताबाट भएको उल्लेख गर्दै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको चर्चा गरे । उनले नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को रूपमा चित्रण गर्दै हराउँदै गएको राष्ट्रिय गौरव पुनःस्थापना गर्ने संकल्प व्यक्त गरे ।
कार्यक्रममा उम्मेदवारको हैसियतमा सहभागी भएका ओलीले निर्वाचन आचारसंहिताप्रति आफू सचेत रहेको उल्लेख गर्दै चुनाव प्रचारभन्दा पनि राष्ट्र निर्माणप्रतिको प्रतिबद्धता दोहोर्याउन आएको स्पष्ट पारे । आचारसंहिताका कारण धार्मिक कार्यक्रममा दान दिनसमेत आफूलाई प्रतिबन्ध लागेको उनले बताए ।

