spot_img

सहजा खोलाको पुल निर्माण अलपत्र, सिरहामा स्थानीयको आन्दोलन

spot_img
spot_img

सिरहा,२६ माघ । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र परेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। पुल निर्माण छिटो सम्पन्न गर्न माग गर्दै स्थानीयले सोमबार बिहान पुल स्थलमै प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका छन्।

पुल नहुँदा बारम्बार दुर्घटना भइरहेकाले सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले प्रहरी, प्रशासन र निर्माण कम्पनीविरुद्ध नाराबाजी गरेका थिए। स्थानीय दिपेन्द्र यादवका अनुसार पुल निर्माणमा ढिलाइ हुँदा दैनिकजसो दुर्घटना भइरहेको छ। अर्का स्थानीय लक्ष्मी प्रसाद यादवले वर्षायाममा खोलामा बाढी आएपछि आवतजावत पूर्ण रूपमा ठप्प हुने र सर्वसाधारणले ठूलो सास्ती खेप्नु परेको बताए।

स्थानीय अमित कुमार यादव (बन्ठा) ले पुल निर्माण सुरु भएको करिब चार वर्ष बितिसक्दा पनि काम सम्पन्न नहुनु सरकार र ठेकेदार दुवैको लापरबाही भएको आरोप लगाए।

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवका अनुसार पुल नहुँदा औरही, बरियारपट्टि, नवराजपुर, अर्नामा तथा सिरहा नगरपालिकाका नागरिकलाई आवतजावतमा ठूलो समस्या भइरहेको छ। पटक–पटक ठेकेदारसँग छलफल भए पनि निर्माण कार्य अघि नबढेको उनले बताए।

२०७९ माघ १५ गते करिब ११ करोड ५४ लाख रुपैयाँ लागतमा सुगम निर्माण सेवा प्रा.लि., महेन्द्रनगर धनुषाले पुल तथा कल्भर्ट निर्माणको ठेक्का पाएको थियो। सम्झौता अवधि सकिएर एकपटक म्याद थप भए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीले करिब ४ करोड ४८ लाख रुपैयाँ भुक्तानी लिइसकेको भए पनि काम करिब ३९ प्रतिशत मात्र सम्पन्न भएको बताइएको छ भने दरैयामा बन्ने बक्स कल्भर्टको काम सुरु नै भएको छैन।

हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार निर्माण कम्पनी हाल सम्पर्कविहीन रहेको र एक साताभित्र काम सुरु नगरे ठेक्का तोड्ने तयारी भइरहेको छ। सिरहामा हुलाकी सडक अन्तर्गत रहेका पाँच योजनामध्ये हालसम्म लगदीगढियानी सडकको काम मात्रै अघि बढेको छ भने अन्य योजनाको अवस्था अझै अनिश्चित छ।

spot_img

ताजा अपडेट

लोकप्रिय