नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच

spot_img

काठमाडौं,२६ माघ । नेपालका करिब ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ अनुसार देशभर विद्युत् पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखिएको हो।

प्रदेशगत विवरण अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी ९९.५ प्रतिशत घरपरिवारमा विद्युत् सेवा उपलब्ध रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ८०.८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको छ। सहर क्षेत्रमा ९८.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ भने ग्रामीण क्षेत्रमा यो दर ९३.७ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ।

प्रदेशअनुसार कोशी प्रदेशमा ९७.२ प्रतिशत, मधेस प्रदेशमा करिब ९८ प्रतिशत र काठमाडौं उपत्यकामा झण्डै शतप्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ। कर्णाली प्रदेशको ग्रामीण क्षेत्रमा भने ७४.८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पहुँच रहेको छ। सुदूरपश्चिम प्रदेशमा ७८.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्यांकमा उल्लेख छ।

सर्वेक्षणले टेलिफोन सुविधा (स्थिर वा मोबाइल) को पहुँच पनि उच्च रहेको देखाएको छ। देशभर ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा पुगेको छ, जसमा बागमती प्रदेशमा सबैभन्दा बढी ९७.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९२.६ प्रतिशत घरपरिवारमा यो सुविधा उपलब्ध रहेको छ।

उक्त सर्वेक्षणका लागि देशभरका ५४० गणना क्षेत्र छनोट गरिएको थियो, जसमा ३०४ सहरी र २३६ ग्रामीण क्लस्टर समावेश थिए। प्रत्येक क्लस्टरबाट २४ घरपरिवारको विवरण संकलन गरी कुल १२ हजार ९६० घरपरिवारको तथ्यांक अध्ययन गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय