काठमाडौं,२८ माघ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि साधारण शेयर बिक्री सुरु गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको कुल २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर निष्काशन तथा बाँडफाँट गरिसकिएको छ।
अब कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको हिस्सा अलग गरी बाँकी रहेको ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा बिक्रीमा ल्याइएको कम्पनीले जनाएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते बन्द हुने जनाइएको छ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आसब्बा सदस्य बैंक तथा वित्तीय संस्था वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
रिज लाइन इनर्जीले ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ। करिब २ अर्ब ९ करोड रुपैयाँ लागतमा निर्माण भएको आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री भइरहेको कम्पनीले जनाएको छ।

