spot_img

देशलाई नयाँ सोच र नेतृत्व आवश्यक : रास्वपा उम्मेदवार कानु

spot_img
spot_img

बीरगन्ज,२८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–३ स्थित झाबराह टोलमा बुधबार घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले देशमा फैलिएको भ्रष्टाचार, बेथिति र अन्याय अन्त्य गर्न राजनीतिक सोच र नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

“समुन्नत समाज निर्माणका लागि अब नयाँ सोच र नयाँ नेतृत्वको खाँचो छ,” उनले भने, “सबै जात, समुदाय, धर्म र संस्कृतिलाई समेट्ने राजनीतिक अभ्यासका लागि घण्टी छापमा मतदान गरी रास्वपाका उम्मेदवारलाई विजयी गराउनुहोस्।”

कानुले पर्सा–२ बाट विगतमा विभिन्न दलका प्रतिनिधि निर्वाचित भए पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीजस्ता क्षेत्रमा उल्लेखनीय सुधार हुन नसकेको दाबी गरे। उनले युवाहरू रोजगारीका लागि विदेशिनु बाध्यात्मक बनेको उल्लेख गर्दै अब परिणाममुखी र जवाफदेही नेतृत्व आवश्यक भएको बताए।

रास्वपाको चुनावी एजेन्डाबारे जानकारी दिँदै उनले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको बताए। साथै शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषिको आधुनिकीकरण, साना तथा मझौला उद्यम प्रवर्द्धनमार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे।

उनले रास्वपसँग समान र सन्तुलित विकासका लागि स्पष्ट योजना र सक्षम टिम रहेको दाबी गर्दै परिवर्तन चाहने मतदातालाई पार्टी रोज्न आग्रह गरे। घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय