जनकपुर,२० जेठ । सामाजिक सञ्जाल टिकटकमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो सार्वजनिक गर्ने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मनराशिश्वा नगरपालिका–७ का २२ वर्षीय अनिल साहले (@Sarpallopulchwokboy) नामक टिकटक आइडीमार्फत नेपाल प्रहरीसमेतलाई लक्षित गर्दै अपशब्द प्रयोग गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
उक्त घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले साहको घरमै पुगेर सोधपुछ तथा सम्झाइबुझाइ गर्दा समेत प्रहरी कर्मचारीप्रति अभद्र व्यवहार गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले उनलाई घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका साहविरुद्ध जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट मङ्गलबार ७ दिनको म्याद लिई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो।
जिल्ला प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार बन्न तथा कानुनविपरीत गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।




