काठमाडाै,०१ फागुन । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बिहीबार सम्पन्न आम निर्वाचनलाई असंवैधानिक र फर्जी भएको दाबी गर्दै नतिजा अस्वीकार गरेकी छन्। हाल भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्नो दल अवामी लिगलाई निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाइएको र अन्तरिम सरकारले गैरकानुनी रूपमा सत्ता नियन्त्रणमा लिएर चुनाव गराएको आरोप लगाएकी हुन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै हसिनाले अन्तरिम नेतृत्वप्रति लक्षित गर्दै चुनाव पूर्वनिर्धारित ढंगले गराइएको दाबी गरिन्। उनले जनमतको सम्मान नभएको र प्रक्रियाले अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको टिप्पणी गरिन्।
निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २९९ सिटमध्ये २०९ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। तर, हसिनाले मुख्य प्रतिस्पर्धी दललाई प्रक्रियाबाटै बाहिर राखेर गरिएको चुनावले जनताको वास्तविक प्रतिनिधित्व नगर्ने दाबी गरेकी छन्। बङ्गलादेशमा करिब १५ वर्ष शासन गरेको अवामी लिगलाई यसपटक निर्वाचन लड्न अनुमति दिइएको थिएन।
बीएनपीको जितसँगै तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका रहमानले दुई निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका छन्। उनी बीएनपी नेतृ खालिदा जियाका पुत्र हुन्।
यता, जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ७० सिट जितेको छ। जमातका प्रमुख शफिकुर रहमानले ढाका–१५ बाट जित हासिल गरेका छन्।
निर्वाचन परिणामपछि बङ्गलादेशको राजनीतिक अवस्था थप तरल बन्न सक्ने संकेत देखिएको छ भने हसिनाको अस्वीकृतिले आगामी दिनमा राजनीतिक ध्रुवीकरण बढ्न सक्ने विश्लेषण गरिएको छ।

