काठमाडौँ,०१ फागुन । नेपाली कांग्रेसले देशलाई सुशासन र समृद्धितर्फ डोर्याउन नयाँ नेतृत्व र स्पष्ट सोचसहित कार्य अघि बढाउने सङ्कल्प गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए।
चालिसेका अनुसार, पार्टीले वैज्ञानिक र व्यावसायिक दृष्टिकोण राख्ने प्रतिष्ठित व्यक्तित्वहरूलाई आबद्ध गर्न खुला आह्वान गरेको छ। यस अन्तर्गत चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम र नागरिक समाजजस्ता विभिन्न क्षेत्रका अनुभवी र क्षमतावान् व्यक्तिहरूलाई कांग्रेसमा जोडिन आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि अब पार्टी व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्य र पारदर्शिता, जबाफदेहिता तथा नीतिमा आधारित राजनीतिलाई केन्द्रमा राख्नेछ। राष्ट्र निर्माण र लोकतन्त्रको सुदृढीकरणमा नयाँ सोच र ऊर्जा बोकेका विज्ञहरूको सहभागिता अपरिहार्य भएको उल्लेख छ।

