सर्लाही,०१ फागुन । सर्लाहीको मलंगवास्थित जिल्ला कारागार कार्यालय मलंगवाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हालेको छ । बिहीबार साँझ ५ बजेदेखि सेनाले कारागारको सुरक्षा व्यवस्थापन औपचारिक रूपमा आफ्नो जिम्मामा लिएको हो ।
मलंगवा सुरक्षा बेसबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा २५ जना सैनिकको टोली कारागार सुरक्षाका लागि खटाइएको छ । यसअघि उक्त कारागारको सुरक्षा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गर्दै आएका थिए ।
सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार सुरक्षाका दृष्टिले संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण संरचनाहरूमा सेना परिचालन गर्ने नीति लागू गरिएको हो । सोही निर्णयअनुसार मलंगवा कारागारमा सेनाको उपस्थिति सुनिश्चित गरिएको जनाइएको छ । कालीध्वज गण नवलपुर पाँचकुमारीका गणपति उमेश खड्काका अनुसार सरकारको निर्देशनबमोजिम सम्बन्धित निकायसँग समन्वय गरी कारागारको सुरक्षा व्यवस्थापन अघि बढाइएको छ ।

