अज्ञात आगोले सामुदायिक वनमा ठूलो क्षति, नेपाली सेना–प्रहरीको प्रयासमा नियन्त्रण

spot_img

रौतहट,०२ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित नमुना सामुदायिक वनमा बिहीबार दिउँसो सुरु भएको आगलागी करिब ३० घन्टापछि नियन्त्रणमा आएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनकर्मी र अन्य सुरक्षा टोलीको संयुक्त प्रयासले शुक्रबार साँझसम्म आगो नियन्त्रणमा आएको हो।

घटनास्थलमा गौरस्थित नारायणदल गणबाट नेपाली सेनाको दमकलसहित टोली खटिएको थियो। त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन सुरक्षा टोली र वन कार्यालयका कर्मचारीहरू लगातार परिचालित थिए।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त कुमार साहका अनुसार, आगलागीमा करिब ८–१० हजार क्युफिट सालको गोलिया काठ जलेको प्रारम्भिक अनुमान गरिएको छ। यो काठ २०७६ सालमा प्रसारण लाइन विस्तारका लागि काटिएको थियो र पछि सोही वनमा संकलन गरी राखिएको थियो।

प्रदेश वन मन्त्री शंकर चौधरी, वन निर्देशक जगरनाथ प्रसाद जैसवाल, रौतहटका सिडिओ दिनेश सागर भुषाल, नेपाली सेनाका कर्णेल विश्वास बिष्ट, प्रहरी प्रमुख (एसपी) सिताराम रिजाल, सशस्त्र प्रहरी एसपी रामहरी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी घटनास्थल पुगेर चासो व्यक्त गरेका थिए।

डिभिजन प्रमुख साहले आगलागी नियन्त्रणमा ढिला हुनुको कारण सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूको निष्क्रियतासँग जोड्दै, “समुदायले जिम्मा लिएको वनमा अप्रिय घटना हुँदा पदाधिकारीले अग्रसर हुनुपर्छ, तर यहाँ सक्रियता नदेखिँदा क्षति बढ्यो,” बताए।

उनका अनुसार उपभोक्ता समूहले लामो समयदेखि लेखापरीक्षण र साधारणसभा नगरेको कारण काठ बिक्री प्रक्रिया पनि अघि बढ्न सकेको थिएन। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ। प्रहरीले आगलागी नियतवश गराइएको हुनसक्ने आशंका गरेको छ र अनुसन्धान जारी रहेको जानकारी दिएको छ। गौरबाट ल्याइएको नेपाली सेनाको दमकल वन कार्यालयमै राखिएको छ र आवश्यक परे पुनः निरीक्षण गरी पानी हाल्ने तयारी गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय