काठमाडौँ,०४ फागुन । रिज लाइन इनर्जी लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ २८ गतेदेखि सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो।
कुल निष्कासित शेयरमध्ये ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि र २८ हजार ४४० कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक र वित्तीय संस्थाका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, अनलाइन माध्यम ‘मेरो शेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
आईपीओको निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ। कम्पनीले कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि शेयर बाँडफाँट प्रक्रिया सम्पन्न भइसकेको छ। दोस्रो चरण अन्तर्गत आज सर्वसाधारणका लागि आवेदन दिनुपर्ने भएकाले इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिनु पर्ने चेतावनी दिइएको छ।

