आधाभन्दा बढी बजेट सामान्य प्रशासनमै, पूँजीगत खर्च सुस्त

spot_img

काठमाडाै,०४ फागुन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारले कुल ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ। कार्यगत शीर्षकअनुसारको विवरण हेर्दा सबैभन्दा ठूलो हिस्सा सामान्य प्रशासनिक सेवामा खर्च भएको देखिएको छ।

अर्थ मन्त्रालयका अनुसार यस अवधिमा सामान्य प्रशासनिक सेवातर्फ ४ खर्ब ३ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ, जुन कुल खर्चको करिब ५८ प्रतिशत हो। यसमा संघ, प्रदेश र स्थानीय तहलाई गरिने वित्तीय हस्तान्तरणसमेत समावेश छ। पुस मसान्तसम्म मात्रै १ खर्ब ९० अर्ब रुपैयाँ हस्तान्तरण गरिएको छ।

सार्वजनिक ऋण व्यवस्थापनमा १ खर्ब ५५ अर्ब १५ करोड खर्च भएको छ भने कार्यकारी, विधायिकाका निकाय, आर्थिक–वित्तीय तथा वैदेशिक मामिलातर्फ ३८ अर्ब ६१ करोड खर्च गरिएको छ। सामान्य सेवा शीर्षकमा १८ अर्ब २३ करोड खर्च भएको छ। सामान्य प्रशासनतर्फको खर्च गत वर्षको यही अवधिको तुलनामा ३.०१ प्रतिशतले बढेको हो।

सरकारले चालु आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। तर ६ महिनामा कुल बजेटको ३५.१४ प्रतिशत मात्रै खर्च भएको छ। यसमध्ये चालु खर्च ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत कार्यान्वयन भएको छ। समग्रमा कुल खर्च गत वर्षको तुलनामा ३.३९ प्रतिशतले बढेको छ।

पहिलो ६ महिनामा रक्षा शीर्षकमा २८ अर्ब ३३ करोड ६७ लाख खर्च भएको छ, जुन गत वर्षको तुलनामा ५.९४ प्रतिशत बढी हो। सार्वजनिक शान्ति तथा सुरक्षातर्फ ३६ अर्ब ५० करोड खर्च गरिएको छ, जसमा प्रहरी, न्यायालय, कारागार र अनुसन्धान क्षेत्रका खर्च समावेश छन्।

आर्थिक मामिला शीर्षकअन्तर्गत ६९ अर्ब ४० करोड खर्च भएको छ, जुन गत वर्षको तुलनामा ११.०९ प्रतिशतले घटेको हो। कृषि, ऊर्जा, उद्योग, यातायात, सञ्चारलगायतका क्षेत्रमा हुने खर्च यस शीर्षकमा समेटिन्छ।

स्वास्थ्य क्षेत्रमा २५ अर्ब २२ करोड ८३ लाख खर्च गरिएको छ, जुन अघिल्लो वर्षभन्दा १८.५२ प्रतिशत बढी हो। शिक्षातर्फ २८ अर्ब १० करोड खर्च भएको छ, जुन १२.६० प्रतिशतले वृद्धि हो।

सामाजिक सुरक्षातर्फ ८९ अर्ब ६३ करोड खर्च गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.४८ प्रतिशत धेरै हो।

वातावरण संरक्षणमा ६६ करोड ६१ लाख तथा आवास तथा सामुदायिक सुविधामा ७ अर्ब ५ करोड खर्च भएको छ। मनोरञ्जन, संस्कृति तथा धर्म शीर्षकको खर्च भने ११.०५ प्रतिशतले घट्दै १ अर्ब ५८ करोडमा सीमित भएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय