काठमाडौं, ०५ फागुन । विद्यार्थी आन्दोलनपछि बनेको अन्तरिम व्यवस्थाको १६ महिनापछि बंगलादेशले आज जननिर्वाचित सरकार पाउँदैछ। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान आज प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दै छन्।
नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले सत्ता निर्वाचित सरकारलाई हस्तान्तरण गर्न लागेको हो। अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमबार राति विदाइ सम्बोधन गर्दै पद छोड्ने घोषणा गरेका थिए।
१२ फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनमा बीएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जित्दै दुईतिहाइ बहुमत हासिल गरेको थियो। त्यस्तै, जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ।
बीएनपीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह आज अपराह्न ४ बजे तय गरिएको छ। यसैदिन नव निर्वाचित सांसदहरूको शपथ पनि हुँदैछ। बीबीसीका अनुसार मुख्य निर्वाचन आयुक्तले बिहान १० बजे संसद् भवनको साउथ प्लाजामा सांसदहरूलाई शपथ गराउने कार्यक्रम छ।

