वीरगञ्ज । शहीद दिवसको अवसरमा पर्सा क्षेत्र नम्बर–१ का नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप यादवले देश, लोकतन्त्र र जनअधिकारका लागि अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
यादवले जारी गरेको सन्देशमा शहीदहरूको बलिदानकै कारण आजको स्वतन्त्र र लोकतान्त्रिक नेपाल सम्भव भएको उल्लेख गर्दै शहीदले देखेका सपना साकार पार्नु प्रत्येक नागरिकको साझा दायित्व भएको बताए। उनले लोकतन्त्रको रक्षा, सुशासनको स्थापना र राष्ट्रिय एकताको सुदृढीकरणमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
नेता यादवले शहीद दिवस केवल स्मरणको दिन मात्र नभई आत्मसमिक्षा र प्रतिबद्धताको अवसर भएको जनाउँदै शहीदका आदर्शलाई व्यवहारमा उतार्दै जनताको अधिकार र समृद्ध राष्ट्र निर्माणका लागि निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

