बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्वारा शपथ ग्रहण

spot_img

काठमाडाै,०५ फागुन । तारिक रहमानले बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मोहम्मद शाहाबुद्दिनले ढाकास्थित संसद् भवनमा आयोजित विशेष समारोहमा उहाँलाई शपथ गराउनुभएको हो। नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले पनि सोही अवसरमा शपथ ग्रहण गरेका छन्।

यसअघि बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) संसदीय दलले रहमानलाई सर्वसम्मत रूपमा आफ्नो नेता चयन गरेको थियो। बङ्गलादेशको इतिहासमै पहिलो पटक मन्त्रिपरिषद्को शपथ ग्रहण समारोह खुला आकाशमुनि आयोजना गरिएको बताइएको छ।

अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले शपथ समारोहका लागि नेपालसहित १३ देशलाई निमन्त्रणा पठाउनुभएको थियो। सो समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुनुभएको जनाइएको छ।

गत बिहीबार सम्पन्न निर्वाचनमा बीएनपीले दुईतिहाइ सिट जितेको थियो। ६० वर्षीय रहमान पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुनुहुन्छ। उहाँ १७ वर्षपछि चुनावअघि मात्र स्वदेश फर्किनुभएको थियो।

विद्यार्थी आन्दोलनले शेख हसिना नेतृत्वको सरकारलाई अपदस्थ गरेको १८ महिनापछि बङ्गलादेशमा निर्वाचन सम्पन्न भएको हो।

प्रधानमन्त्री रहमानले राजनीतिक स्थिरता पुनर्स्थापना, लगानीकर्ताको विश्वास पुनर्निर्माण तथा सन् २०२४ को विद्यार्थी आन्दोलनपछिको उथलपुथलबाट प्रभावित गार्मेन्टलगायत प्रमुख उद्योग क्षेत्रलाई पुनर्जीवित गर्ने चुनौती सामना गर्नुपर्ने बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय