काठमाडौँ,०७ फागुन । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूको असन्तोषलाई बेवास्ता वा दमन गरेर देशलाई समृद्ध बनाउन नसकिने स्पष्ट पारेकी छन्। ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले युवाको आवाजलाई सम्मान नगर्ने शासन व्यवस्था दीर्घकालीन रूपमा टिक्न नसक्ने चेतावनी दिइन्।
प्रधानमन्त्री कार्कीले राजनीतिक नेतृत्व र शासकीय प्रणालीको कडा आलोचना गर्दै देशमा पटक–पटक आन्दोलन हुनुको कारण गम्भीर रूपमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले २००७ सालको क्रान्तिले आधुनिक नेपालको आधार तयार गरे पनि त्यसपछिका सात दशकमा आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको स्वीकार गरिन्।
उनले राज्य संयन्त्रमा मौलाउँदै गएको पक्षपात, नातावाद र स्रोत–साधनको असमान वितरणप्रति चिन्ता व्यक्त गरिन्। छात्रवृत्ति, रोजगारी र बजेट बाँडफाँडमा हुने भेदभाव अन्त्य नभएसम्म लोकतन्त्रको वास्तविक अर्थ स्थापित हुन नसक्ने उनको भनाइ थियो। उनले जोड दिँदै भनिन्, “जबसम्म सामान्य नागरिकले न्याय र समान अवसरको अनुभूति गर्दैन, तबसम्म व्यवस्था परिवर्तनले सार्थकता पाउँदैन।”
गत भदौमा भएको युवा आन्दोलनलाई उनले असफल शासन प्रणालीविरुद्धको सशक्त सन्देशको रूपमा व्याख्या गरिन्। आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, पारदर्शिता र समानताको मागलाई उनले जायज ठहर गर्दै राज्यले जनताप्रति जिम्मेवार र विनम्र हुनुपर्ने बताइन्।
प्रधानमन्त्री कार्कीले लोकतन्त्र केवल संविधानको शब्दमा सीमित नभई नागरिकको दैनिक जीवनमा अनुभूत हुनुपर्ने उल्लेख गरिन्। महँगी, बेरोजगारी, वैदेशिक रोजगारीमा जान बाध्य युवाको अवस्था र आर्थिक असमानता लोकतन्त्रका प्रमुख चुनौती रहेको उनले बताइन्।
उनले वर्तमान सरकार युवाहरूको आन्दोलनबाट उत्पन्न जनचाहनाको परिणाम भएको स्मरण गराउँदै सुशासन, पारदर्शिता र छिटो निर्वाचन गराउने वातावरण निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिइन्। साथै, उनले प्रशासनिक ढिलासुस्ती र परिणामविहीन प्रक्रियालाई अन्त्य गरी प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएको बताइन्।
अन्त्यमा, प्रधानमन्त्री कार्कीले युवाको असन्तोषलाई खतरा नभई परिवर्तनको ऊर्जा मान्नुपर्ने धारणा राखिन्। उनले चेतावनी दिँदै भनिन्, “यदि युवालाई निरन्तर अपमान र तिरस्कार गरियो भने विद्रोह पुनः दोहोरिन सक्छ। त्यसैले युवाको आवाजलाई सुन्नु र सम्मान गर्नु नै स्थायी शान्ति र समृद्धिको आधार हो।”

