spot_img

सहमति र साझा एजेन्डा बिना निर्वाचन नगर्न राप्रपाको आग्रह

spot_img
spot_img

काठमाडौँ,०७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशका विद्यमान राष्ट्रिय समस्या समाधान नगरी निर्वाचन प्रक्रियामा अघि बढ्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ। पार्टीले साझा राष्ट्रिय एजेन्डा र व्यापक सहमतिका आधारमा मात्रै निर्वाचनतर्फ अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेको हो।

राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले वर्तमान राजनीतिक अस्थिरता, आर्थिक चुनौती तथा सामाजिक असन्तुष्टिलाई ध्यानमा राख्दै निर्वाचनअघि राष्ट्रिय सहमति निर्माण आवश्यक रहेको ठहर गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यकाबाहिर रहेकाले उनको निर्देशनमा वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र कमल थापा सहित काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको सन्देशप्रति स्वागत र समर्थन जनाएको छ। पार्टीले दीर्घकालीन समाधानबिना निर्वाचनमा जाँदा भविष्यमा पुनः द्वन्द्व, अस्थिरता र राजनीतिक खिचातानी उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।

राप्रपाले निर्वाचनलाई सार्थक, स्थिर र परिणाममुखी बनाउन सबै राजनीतिक दलबीच संवाद, सहमति र साझा समझदारी अपरिहार्य रहेको उल्लेख गरेको छ। साथै, राष्ट्रिय सहमतिको वातावरण निर्माणका लागि अन्य दलहरूसँग छलफल र संवादलाई आगामी दिनमा थप तीव्र बनाउने प्रतिबद्धता पार्टीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय