काठमाडाैं,०८ फागुन । प्रधानमन्त्री सुशीला कार्की ले शिक्षा र पाठ्यक्रमलाई देशको आर्थिक समृद्धि र मानव कल्याणसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिएकी छन्। पोखरा विश्वविद्यालय को २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु विश्वविद्यालयहरूको मुख्य जिम्मेवारी भएको बताइन्।
दीक्षान्त समारोहमा ६,६२२ विद्यार्थी दीक्षित भएका थिए। प्रधानमन्त्री कार्कीले “आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको ज्ञान वा शिक्षा सन्दर्भहीन बन्दै जान्छ” भन्दै दीक्षित विद्यार्थीलाई आफ्नो ज्ञान र सीप देशको विकासमा प्रयोग गर्न आग्रह गरिन्। उनले दीक्षान्तलाई शैक्षिक यात्राको अन्त्य नभई नयाँ जिम्मेवारी र अवसरको सुरुआतका रूपमा लिनुपर्ने बताइन्।
विश्वविद्यालयकी कुलपतिसमेत रहेकी कार्कीले युवाहरूलाई परिवर्तनका संवाहक, नीति निर्माता र समाज रूपान्तरणका अभियन्ता बन्न आह्वान गरिन्। उनले देशभित्रै अवसर सिर्जना गर्न विश्वविद्यालयहरूले नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानमा विशेष ध्यान दिनुपर्ने धारणा राखिन्। साथै, ठूलो संख्यामा युवाहरू विदेश पलायन हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै यसको समाधान खोज्न विश्वविद्यालय र राज्य दुवै जिम्मेवार हुनुपर्ने बताइन्।
कार्यक्रममा प्रमुख अतिथि चाँदनी जोशी ले दीक्षान्तलाई विद्यार्थी जीवनको महत्वपूर्ण मोडको रूपमा वर्णन गर्दै शिक्षित युवाहरूले समाजप्रति जिम्मेवार भएर योगदान दिनुपर्ने बताइन्। उनले ज्ञान, सीप र नैतिक साहसका आधारमा सानो देशले पनि विश्वस्तरमा प्रभावकारी भूमिका खेल्न सक्ने धारणा राखिन्।
समारोहमा विश्वविद्यालयका पदाधिकारीहरूले पनि उच्च शिक्षा विस्तार, अनुसन्धान प्रवर्द्धन र नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको योजनाबारे जानकारी दिएका थिए। हाल विश्वविद्यालयमा विभिन्न तहका ७४ शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् भने ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

