काठमाडौं,११ फागुन। प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई सोमबारदेखि एपोलो हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।
कम्पनीले जारी पूँजी ४७ करोडको ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
जसमा १० प्रतिशत अर्थात् ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि निष्कासन हुन लागेको हो । त्यस्तै १० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई निष्कासन गर्न लागिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले एक सूचनामार्फत जनाएको छ ।
प्रभावित क्षेत्रका रुपमा ओखलढुङ्गा जिल्लाका खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८, सोलुखुम्बु जिल्लाको लिखुपिखे गाउँपालिका २, रामेछाप जिल्लाको उमाकुन्ड गाउँपालिका वडा नम्बर २ र ३ तथा गोकुलगंगा गाउँपालिका वडा नम्बर १ रहेका छन् । आयोजना प्रभावित स्थानीयबासीले छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले छिटोमा फागुन १४ र ढिलोमा २५ गतेसम्म आवेदन दिन सक्नेछन् । अंकित मूल्य १ सयका दरले रकम भुक्तानी गर्नुपर्नेछ । न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै प्रभावितले लक्ष्मी सनराइज बैंक किन्जा (सोलुखुम्बु) शाखा, शिवालय शाखा (रामेछाप), प्रिति शाखा (रामेछाप), नेपाल इन्भेस्टमेन्ट मेगा बैंक खिजिदेम्बा (ओखलढुंगा) शाखा, सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा तथा एपोलो हाइड्रोपावर आयोजना कार्यालय ओखलढुंगाबाट आवेदन दिन सक्नेछन् ।

