काठमाडौं,१२ फागुन । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्दै सम्पूर्ण तयारी पूरा गरिसकेको छ।
भदौ अन्तिम साता भएको जनआन्दोलनपछि बनेको वर्तमान सरकारको मूल उद्देश्य नै समयमै निर्वाचन गराउने र वैधानिक प्रक्रियामार्फत निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको उहाँले बताउनुभयो। संवैधानिक व्यवस्थाअनुसार संसद् विघटन भएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएकाले चुनाव सार्ने विकल्प नभएको उहाँको भनाइ छ।
गृहमन्त्री अर्यालका अनुसार निर्वाचन आयोग ले निर्वाचनसम्बन्धी आवश्यक काम लगभग पूरा गरिसकेको छ भने सुरक्षा व्यवस्था पनि एकीकृत सुरक्षा योजनाअनुसार कार्यान्वयनमा छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकाय परिचालित भइसकेका छन्। केन्द्र, प्रदेश र जिल्लास्तरमा कमान्ड पोष्ट तथा निर्वाचन सेल सञ्चालनमा रहेको र दैनिक समीक्षा तथा समन्वय भइरहेको मन्त्री अर्यालले जानकारी दिनुभयो।
उहाँले मतदातालाई ढुक्क र निर्भयतापूर्वक मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ।
हालै केही स्थानमा भएका छिटपुट झडप वा असहज अवस्थाले निर्वाचन प्रभावित नहुने उहाँले दाबी गर्नुभयो। त्यस्ता घटनालाई नियन्त्रणभित्र राखिएको र पूर्वसूचना प्रणालीमार्फत रोकथाममा जोड दिइएको बताइएको छ।
भदौको आन्दोलनका क्रममा भागेका कैदीबन्दी र लुटिएका हतियारसम्बन्धी चिन्ता पनि अब ठूलो सुरक्षा चुनौती नभएको मन्त्री अर्यालले स्पष्ट पार्नुभयो। अधिकांश व्यक्तिहरू पक्राउ परिसकेको र हतियारहरू बरामद भइसकेको बताइएको छ।
तराई–मधेशमा निर्वाचनअघि पर्ने होली पर्व तथा उच्च हिमाली क्षेत्रमा सम्भावित हिमपातले मतदान प्रभावित नपार्ने सरकारको विश्वास छ। सम्बन्धित प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर चाडपर्व र निर्वाचन दुवैलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। आवश्यक परे सार्वजनिक बिदा थपेर पनि सहजीकरण गर्ने तयारी रहेको छ।
उच्च हिमाली जिल्लाका कतिपय मतदान केन्द्र सदरमुकाममा सार्ने मागबारे सबै सरोकारवालाबीच सहमति जुटेमा आवश्यक निर्णय लिन सकिने गृहमन्त्रीको भनाइ छ।
सरकारले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक सहयोग लिएको बताउँदै मन्त्री अर्यालले छोटो अवधिमा निर्वाचनको वातावरण तयार पार्नु चुनौतीपूर्ण काम रहेको उल्लेख गर्नुभयो। विद्रोहपछिको असहज अवस्थाबाट मुलुकलाई कानुनी राज्य र स्थायित्वतर्फ फर्काउँदै निर्वाचनसम्म ल्याइएको उहाँको दाबी छ।
सामाजिक सञ्जाल वा केही माध्यमबाट चुनाव समयमै नहुने आशंका व्यक्त भइरहेका सन्दर्भमा मन्त्री अर्यालले त्यस्ता हल्ला निराधार भएको बताउनुभयो।
“निर्धारित मितिमा निष्पक्ष निर्वाचन सम्पन्न गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता सरकारको छ,” उहाँले भन्नुभयो, “चुनाव सर्ने वा सार्ने प्रश्न नै उठ्दैन।”सरकारले फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र समयमै सम्पन्न हुने दोहोर्याउँदै नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।



