काठमाडौं,३१ वैशाख । सरकारले क्यासिनोहरूमा नेपाली नागरिकको प्रवेश र अवैध खेल सञ्चालन रोक्न देशभरका १२ जिल्ला प्रशासन कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। पर्यटन विभागले विशेष परिपत्र जारी गर्दै क्यासिनोहरूको नियमित अनुगमन, सूक्ष्म निगरानी र कानुन कार्यान्वयनमा कडाइ गर्न आग्रह गरेको हो।
पछिल्लो समय केही क्यासिनोहरूले कानुनविपरीत नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने तथा स्वीकृतिबाहिरका खेल सञ्चालन गरिरहेको गुनासो बढेपछि सरकार सक्रिय बनेको हो। यस विषयमा प्रतिनिधिसभामा समेत सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।
पर्यटन विभागका निर्देशक हिमाल गौतमद्वारा जारी निर्देशन काठमाडौं, पर्सा, बारा, झापा, मोरङ, भक्तपुर, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। ती जिल्लामा क्यासिनो सञ्चालन भइरहेका वा सञ्चालनको सम्भावना रहेको विभागले जनाएको छ।
प्रचलित पर्यटन ऐन र क्यासिनो नियमावलीअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न पूर्ण प्रतिबन्ध छ। साथै, क्यासिनो सञ्चालकले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको पालना अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था पनि रहेको छ।
विभागले अनुगमनका क्रममा नेपाली नागरिकको अवैध प्रवेश, शंकास्पद गतिविधि वा गैरकानुनी खेल सञ्चालन भएको पाइए तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। आवश्यक परे सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन र त्यसबारे विभागलाई जानकारी गराउन पनि भनिएको छ।
विशेषगरी सीमावर्ती क्षेत्रका क्यासिनोहरूमा नेपालीको सहज पहुँच हुने भएकाले स्थानीय प्रशासनलाई थप सक्रिय बन्न आग्रह गरिएको छ। अब क्यासिनो प्रवेश गर्ने प्रत्येक व्यक्तिको परिचय खुल्ने कागजात अनिवार्य जाँच गरिने र विदेशी पर्यटकलाई मात्र प्रवेश दिने व्यवस्थामा कडाइ गरिने सरकारले जनाएको छ।



