सर्लाही,३१ वैशाख । सर्लाहीको हरिवन नगरपालिकामा यात्रुवाहक बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान हरिवन नगरपालिका–११ स्थित कडरिया चोकमा भएको दुर्घटनामा ती पुरुषको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा।प्र।–०१–००६ ख ९६७० नम्बरको बसले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। मृतकको परिचय भने अझै खुल्न सकेको छैन।
इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।



