काठमाडौं,३१ वैशाख । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्। प्रतिनिधिसभाको बिहीबारको कार्यसूचीमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने उल्लेख गरिएको छ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अर्थमन्त्रीलाई तोकिएको हो।
प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलहरूले लगातार आपत्ति जनाउँदै आएका छन्। उनीहरूले नीति तथा कार्यक्रममाथिको छलफल र जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।
विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखसँग पटक–पटक रुलिङको माग गरेका थिए। तर सभामुखले प्रधानमन्त्रीको कार्यतालिकाबारे आफूलाई जानकारी नहुने बताउँदै त्यस्तो रुलिङ गर्न नसक्ने स्पष्ट पारेपछि बैठक प्रभावित बनेको थियो।
आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याएर संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रम अनुमोदनका लागि पेश गरिनेछ। साथै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल पनि सुरु हुने संसद् सचिवालयले जनाएको छ।



