काठमाडौं,१३ फागुन । दोलखा जिल्लामा सञ्चालन हुने कालिन्चोक हाइड्रोपावरले बुधबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूका लागि आईपीओ (सार्वजनिक निष्कासन) खुलेको जनाएको छ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँमध्ये २५ प्रतिशत, अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर सर्वसधारण समूहमा निष्कासन गर्न लागेको हो। यसमा ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयबासीका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको छ। प्रभावित स्थानीयबासीमा बिगु नगरपालिका–८ र कालिन्चोक गाउँपालिका–१, २ का निवासी पर्दछन्।
वैदेशिक रोजगारमा रहेका नेपालीहरूले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् भने प्रभावित स्थानीयबासीले सिंगटीस्थित नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकका शाखाबाट आवेदन दिन सक्नेछन्। दुवै समूहले न्यूनतम १० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आवेदन दिने म्याद प्रभावित स्थानीयका लागि छिटोमा फागुन २७, ढिलोमा चैत १३ सम्म र वैदेशिक रोजगारमा रहेका लागि छिटोमा फागुन १७, ढिलोमा फागुन २७ सम्म तोकिएको छ।
कालिन्चोक हाइड्रोपावरले दोलखामा बग्ने साँगुखोलाबाट ५ मेगावाट क्षमतामा आयोजना निर्माण गरेको छ। कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको यस आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ निर्धारण गरिएको छ। साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि १५.३६ वर्ष रहेको छ।
कम्पनीलाई रेटिङ नेपालले बीबी स्तर प्रदान गरेको छ, जसले यसको दायित्व बहन गर्ने क्षमता मध्यमस्तरमा रहेको देखाउँछ।
यो आईपीओले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लगानीको अवसर दिने अपेक्षा गरिएको छ।

