महोत्तरी,१५ फागुन। महोत्तरी क्षेत्र नम्बर १ मा यसपटक नेपाली कांग्रेसले प्राविधिक पृष्ठभूमिका नेता मुकेशराज काफ्ले लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। गौशालामा जन्मिएका काफ्ले सोही क्षेत्रका स्थायी बासिन्दा हुन्। जलविद्युत विषयमा विद्यावारिधिसम्म अध्ययन गरेका उनी इन्जिनियरिङ क्षेत्रबाट व्यावसायिक राजनीतिमा प्रवेश गरी कांग्रेसमा सक्रिय बनेका हुन्।
२०५० को दशकदेखि प्राविधिक विद्यार्थी राजनीति र पेसागत आन्दोलनमा संलग्न काफ्ले नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल का संस्थापक सदस्य तथा पूर्व नेतृत्वकर्ता हुन्। पार्टीका नीतिगत तथा प्राविधिक विभागहरूमा भूमिका निर्वाह गरेका उनी महाधिवेशन प्रतिनिधिका रूपमा पनि परिचित छन्।
उनको सार्वजनिक र प्रशासनिक चर्चा २०७१ सालमा नेपाल विद्युत प्राधिकरण को प्रबन्ध निर्देशक नियुक्त भएपछि चुलिएको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाबाट उनलाई प्राधिकरणको जिम्मेवारी दिएको थियो।
उनको कार्यकालमा ऊर्जा पूर्वाधारका केही रणनीतिक परियोजना अघि बढे पनि चरम लोडसेडिङका कारण उनी पटक–पटक विवाद र आलोचनामा परे। काफ्लेले भने आफूले तयार पारेकै आधारमा पछि लोडसेडिङमुक्त नेपाल सम्भव भएको दाबी गर्दै आएका छन्।
२०७३ सालमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा सँग ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुलसम्बन्धी विवादले उनलाई थप राजनीतिक बहसको केन्द्रमा ल्याएको थियो।यसपटक प्रत्यक्ष राजनीतिमा होमिएका काफ्लेले मधेशको सिँचाइ समस्या, ऊर्जा संकट र प्राविधिक शिक्षालाई मुख्य चुनावी एजेन्डा बनाएका छन्। उनले आफूलाई ‘विकासको खाका कोर्न सक्ने विज्ञ नेतृत्व’ का रूपमा प्रस्तुत गर्दै मतदातासँग घरदैलो अभियान तीव्र पारेका छन्।
महोत्तरी–१ मा उनको प्रतिस्पर्धा एमालेका लक्ष्मी महतो कोइरी, माओवादी केन्द्रका गिरिराजमणि पोखरेल लगायत अन्य दलका उम्मेदवारसँग हुँदैछ। २०७९ को निर्वाचनमा यस क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको थियो, जहाँ कोइरी २३ हजार ४०२ मतसहित विजयी भएका थिए भने पोखरेल २२ हजार ३७२ मतसहित दोस्रो स्थानमा सीमित भएका थिए।



