महोत्तरी,१५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महोत्तरी क्षेत्र नम्बर १ बाट होमप्रसाद पोखरेल लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। बर्दिवास नगरपालिकाका स्थायी बासिन्दा पोखरेल सामान्य किसान परिवारमा जन्मिएका हुन् र बाल्यकालदेखि करिब २० वर्षसम्म गाई–गोठालो गरेर संघर्षपूर्ण जीवन बिताएका थिए।
शैक्षिक रूपमा स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका उनी २०५९ सालदेखि व्यावसायिक रूपमा सक्रिय छन्। कृषि र व्यवसायमा अनुभव भएका पोखरेल लामो समय सामाजिक सेवा र आध्यात्मिक गतिविधिमा संलग्न रहे। उनी ‘मुलाधार’ आश्रमका संस्थापक संरक्षक हुन् र विभिन्न धर्मशाला, दुर्गा मन्दिर तथा विद्यालयका छात्रावास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
पोखरेल २०७८ सालको राप्रपा महाधिवेशनपछि पार्टीको विचार र सिद्धान्तबाट प्रभावित भई सक्रिय राजनीतिमा प्रवेश गरे। हाल उनी महोत्तरी–१ को राप्रपा क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा छन्। २०८१ पुस ७ गते सम्पन्न अधिवेशनबाट उनलाई सर्वसम्मत रूपमा क्षेत्रीय अध्यक्षमा निर्वाचित गरिएको थियो।
उनले वर्तमान संविधानको धर्म निरपेक्षता र जातीय विभाजनले देशको मौलिक पहिचान, इतिहास र गौरव मेटेको ठहर गर्दै सनातन धर्मको पक्षपोषण गर्दै राजनीतिक कार्य अघि बढाएका छन्।



