बारा–२ मा भैयाराम यादवको घरदैलो अभियान जारी

spot_img

बीरगन्ज,१६ फागुन । । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बारा–२ निर्वाचन क्षेत्र मा राजनीतिक गतिविधि तीव्र बनेको छ। उम्मेदवारहरू घरदैलो, टोलभेला र अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।

यसैक्रममा उम्मेदवार भैयाराम यादव ले आफ्नो अभियानलाई घर–घर केन्द्रित बनाएका छन्। उनले माहागढीमाई नगरपालिका का वडा नं. ९ र ८ मा मतदातासँग भेटघाट गर्दै स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे छलफल गरेका छन्। यादवले मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्ने अठोट दोहोर्‍याउँदै क्षेत्रका समस्या समाधानमा इमानदार पहल गर्ने बताएका छन्।

उनका अनुसार चुनावी एजेन्डा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित छ। सडक स्तरोन्नति, सिंचाइ विस्तार, कृषि आधुनिकीकरण तथा युवालाई स्वरोजगारका अवसर सिर्जना गर्ने योजना प्राथमिकतामा राखिएको उनले बताए। “झुटा आश्वासन होइन, काम गरेर देखाउने प्रतिबद्धता छ,” यादवले अन्तरक्रियामा भने।

घरदैलो अभियानका क्रममा उनले किसान, मजदुर, महिला र युवाबाट सुझाव तथा गुनासा संकलन गरिरहेका छन्। स्थानीयवासीले बाढी नियन्त्रण, आधारभूत सेवा विस्तार, गुणस्तरीय शिक्षा, स्वास्थ्य चौकी सुदृढीकरण र ग्रामीण पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

यादवको चुनावी रणनीति प्रत्यक्ष संवाद र जनसहभागितामा आधारित देखिएको छ। उनले योजनाबद्ध कार्य, पारदर्शिता र निरन्तर प्रयासबाट मात्रै वास्तविक विकास सम्भव हुने उल्लेख गर्दै सबै समुदायलाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

चुनावी माहोल तातिँदै जाँदा बारा–२ मा मतदाता संवाद र विकासका मुद्दाले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय