काठमाडौँ,०५ असार । पछिल्लो समय सेयर बजारमा देखिएको गिरावट र उतारचढावबारे अर्थमन्त्रीले स्पष्ट पार्दै यसको मुख्य कारण लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रास भएको बताएका छन्। प्रतिनिधिसभामा आर्थिक ऐन, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन्।
अर्थमन्त्रीका अनुसार हाल १ खर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गरिएका मुद्दाहरू अघि बढिरहेका छन्, जसको केन्द्रमा पुँजी बजार र बिमा क्षेत्र छन्। यस्ता अनुसन्धान र कानुनी कारबाहीका कारण केही लगानीकर्तामा ‘म पनि पर्छु कि’ भन्ने डर उत्पन्न हुँदा बजारमा नकारात्मक प्रभाव परेको उनले बताए।
उनले ठूला अनियमिततामा संलग्न व्यक्तिमाथि कारबाही प्रक्रिया सुरु हुनु सकारात्मक पक्ष भए पनि यसले छोटो अवधिमा बजारमा अन्यौलता सिर्जना गरेको संकेत गरे।
सेयर बजारको दैनिक उतारचढावप्रति सरकार अत्यधिक चिन्तित नरहेको उल्लेख गर्दै अर्थमन्त्रीले सरकारको ध्यान दीर्घकालीन स्थायित्व र पारदर्शितामा केन्द्रित रहेको बताए। “हामी प्रत्येक घण्टाको उतारचढाव हेर्दैनौँ, हाम्रो प्राथमिकता बजारलाई व्यवस्थित, पारदर्शी र विश्वासयोग्य बनाउनु हो,” उनले भने।
अन्त्यमा उनले लगानीकर्ताहरूलाई अफवाह वा हल्लाको पछि नलाग्न आग्रह गर्दै बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त रहन आग्रह गरे। सरकारले नीतिगत रूपमा पुँजी बजार सुदृढीकरणका लागि काम गरिरहेको र हालको अवस्था अस्थायी मात्र रहेको उनको दाबी छ।




