काठमाडौं, २२ फागुन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पक्षमा देखिएको जनसमर्थनलाई सुशासन र समृद्धिको आकांक्षाबाट उत्पन्न भएको ‘शान्त विद्रोह’ का रूपमा व्याख्या गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले ऐतिहासिक ‘जेनजी’ विद्रोहपछिको विशेष परिस्थितिमा सम्पन्न आम निर्वाचनमा रास्वपाप्रति देशव्यापी जनलहर देखिएको उल्लेख गरेका छन्। उनका अनुसार यो जनलहर मूलतः सुशासन र समृद्धिको चाहनालाई पूरा गर्न आम नागरिकले व्यक्त गरेको शान्त विद्रोहको अभिव्यक्ति हो।
भट्टराईले रास्वपाको नेतृत्व टोलीलाई बधाई दिँदै देशमा लामो समयदेखि देखिएका आन्तरिक अर्थ–राजनीतिक तथा बाह्य भू–राजनीतिक चुनौतीहरूको कुशल व्यवस्थापन गर्दै जनताका जायज अपेक्षा पूरा गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।

