बीरगन्ज,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्ला क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ई. अरविन्द साह ले उल्लेख्य अग्रता कायम राखेका छन्।
पछिल्लो विवरणअनुसार हालसम्म १२ हजार ५८५ मतगणना सम्पन्न भएको छ। यसमध्ये अरविन्द साहले ७ हजार ३६३ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि रहेका छन्।
उनका निकटतम प्रतिस्पर्धी फरमुल्ला मन्सुर (नेपाली कांग्रेस) ले १ हजार ५८७ मत प्राप्त गरेका छन् भने रामबाबु यादव (जनता समाजवादी पार्टी, नेपाल) ले १ हजार ३६२ मत पाएका छन्। अन्य उम्मेदवारहरूको मत सङ्ख्या तुलनात्मक रूपमा कम देखिएको छ।
इन्जिनियरसमेत रहेका अरविन्द साह डिजिटल वालेट कम्पनी Khalti का सह–संस्थापक हुन्। उनले चुनावी अभियानका क्रममा ग्रामीण विकास, डिजिटल रूपान्तरण तथा परिणाममुखी राजनीतिलाई प्राथमिकतामा राखेका थिए।
मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी रहेको छ।

