वीरगन्ज,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले प्रारम्भिक मतगणनामा अग्रता कायम गरेका छन्। मतगणना जारी रहँदा रास्वपाका उम्मेदवारहरूले अन्य प्रमुख दलका उम्मेदवारलाई मतान्तरले पछि पारेका छन्।
बारा क्षेत्र नम्बर १ मा रास्वपाका गणेश धिमाल ७,८२३ मतसहित पहिलो स्थानमा रहेका छन्। नेपाली काँग्रेसका शम्भु बहादुर बुढाथोकीले २,४४३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का अच्युत मैनालीले १,६७३ मत पाएका छन्।
क्षेत्र नम्बर २ मा रास्वपाका चन्दन कुमार सिंह ७३२ मतसहित अगाडि छन्। उनलाई नेकपा (एमाले) का बलवीर चौधरीले ५९० मतका साथ पछ्याइरहेका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका रामकिशोर यादवले ४२५ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर ३ मा रास्वपाका अरविन्द साहले ११,६४० मतसहित सबैभन्दा ठूलो अग्रता बनाएका छन्। यस क्षेत्रमा नेपाली काँग्रेसका फरमुल्लाह मन्सुरले २,५९८ मत प्राप्त गरेका छन् भने जसपा नेपालका रामबाबु कुमार यादवले १,०१८ मत पाएका छन्।
त्यसैगरी क्षेत्र नम्बर ४ मा रास्वपाका रहबर अन्सारी ४,८७३ मतसहित अगाडि छन्। नेपाली काँग्रेसका श्यामबाबु गुप्ताले ७९० मत र नेकपा (एमाले) का किसान श्रेष्ठले ७४१ मत प्राप्त गरेका छन्। जिल्लामा विभिन्न दलका ६३ जना र स्वतन्त्र ४७ जना गरी कुल ११० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन अधिकृतका अनुसार बारामा करिब ७० प्रतिशत मत खसेको छ। चारै क्षेत्रमा मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ।

