काठमाडौं,२४ फागुन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसको प्रदर्शन अपेक्षाभन्दा कमजोर देखिएको छ। अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिट जित्दै पहिलो पार्टी बनेको कांग्रेस यसपटक भने निकै सीमित सिटमा खुम्चिएको छ। हालसम्मको परिणामअनुसार कांग्रेसले १४ सिटमा मात्रै विजय हासिल गरेको छ भने केही स्थानमा अग्रता कायम गरेको छ।
देशभरबाट प्राप्त मतपरिणामले कांग्रेस नेतृत्वलाई झस्काएको छ। ‘रूख’ चुनाव चिन्हमा खस्ने मत उल्लेख्य रूपमा घटेको र परम्परागत गढहरू समेत गुमाएको संकेत परिणामले देखाएका छन्।
यद्यपि कमजोर नतिजाबीच पनि कांग्रेसले भौगोलिक उपस्थितिको हिसाबले भने सातै प्रदेशमा आफ्नो प्रतिनिधित्व कायम राख्न सफल भएको छ। हालसम्म जितेका १४ सिटमार्फत कांग्रेसले सातवटै प्रदेशबाट प्रतिनिधि सभामा उपस्थिति सुरक्षित गरेको हो।
प्रदेशअनुसार कांग्रेसको प्रतिनिधित्व
हालसम्मको नतिजाअनुसार कोशी प्रदेशबाट कांग्रेसले ३ सिट, मधेसबाट १ सिट, बागमतीबाट १ सिट, गण्डकीबाट २ सिट, लुम्बिनीबाट २ सिट, कर्णालीबाट ४ सिट र सुदूरपश्चिमबाट २ सिट जितेको छ।
कोशी प्रदेशमा पाँचथर–१ बाट नरेन्द्रकुमार केरुङ र तेह्रथुम–१ बाट सन्तोष सुब्बा निर्वाचित भएका छन्। मधेस प्रदेशमा रौतहट–२ बाट मो. फिरदोस आलम विजयी भएका छन्।
बागमती प्रदेशमा रसुवाबाट मोहन आचार्यले जित हासिल गरेका छन्। गण्डकी प्रदेशका हिमाली जिल्लामा कांग्रेसले आफ्नो गढ जोगाएको छ। मुस्ताङबाट २९ वर्षीय युवा योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशमा कपिलवस्तु–३ बाट अभिषेक प्रताप शाह र पाल्पा–१ बाट सन्दीप राना विजयी भएका छन्।कर्णाली प्रदेशमा कांग्रेसको उपस्थिति सबैभन्दा बलियो देखिएको छ। सुर्खेत–१ बाट विष्णुबहादुर खड्का, जाजरकोट–१ बाट खडकबहादुर बुढा, दैलेख–१ बाट वासना थापा र हुम्ला–१ बाट जयपति रोकाया निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेशमा डोटी–१ बाट भरतबहादुर खड्का र अछाम–१ बाट भरतकुमार स्वार विजयी भएका छन्।यसैबीच जारी मतगणनामा सोलुखुम्बु र बाजुरामा कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन्।

