रास्वपाको विजय जनताको परिवर्तन चाहनाको संकेत हो: राजेन्द्र महतो

spot_img

काठमाडौं,२४ फागुन । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनसमर्थनलाई नेपाली जनताको परिवर्तनको आकांक्षाको अभिव्यक्ति बताएका छन्।

सर्लाही–२ बाट पराजित भएका महतोले रास्वपाको ऐतिहासिक सफलताप्रति बधाई दिँदै परिवर्तन, सुशासन र उत्तरदायी राजनीतिक नेतृत्वको अपेक्षासहित जनताले दिएको जनादेश लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण उपलब्धि भएको बताएका हुन्।

महतोले प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र शाह नेपालको इतिहासमा यस्तो अवसर प्राप्त गर्ने नयाँ पुस्ताको नेतृत्व भएको उल्लेख गरे। उनले काठमाडौँ महानगरपालिकाको मेयरमा शाह निर्वाचित हुँदा नै संसदमा त्यसलाई परिवर्तनको संकेतका रूपमा व्याख्या गरेको स्मरण गर्दै अहिले त्यो संकेत राष्ट्रिय राजनीतिमा ठूलो जनलहरका रूपमा देखिएको बताए।

उनले उम्मेदवारी दर्ताअघि जनकपुरमा शाहले मैथिली भाषामा दिएको “संघीयता अझ बलियो बनाउनु पर्छ” भन्ने सन्देशले संघीयता, पहिचान र समावेशी राज्य संरचनाका पक्षधर नागरिकहरूको ध्यान आकर्षित गरेको र त्यसले व्यापक जनसमर्थन सिर्जना गरेको धारणा व्यक्त गरे।

महतोले जनताले दिएको जनादेशलाई सम्मान गर्दै आगामी सरकारले संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशहरूको अधिकार सुनिश्चितता तथा सीमांकन र नामांकनसँग सम्बन्धित विषय समाधानका लागि संविधान संशोधनमा पहल गर्नुपर्ने बताए। साथै भ्रष्टाचार नियन्त्रण, विभेदकारी कानुनको पुनरावलोकन र सामाजिक न्याय तथा समृद्धिका लागि संस्थागत सुधार आवश्यक रहेको उनले बताए।

यसैबीच उनले सर्लाही–२ बाट निर्वाचित रवीन महतोलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। आफूलाई विश्वास गरेर मत दिने मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै उनले घरदैलो अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसरलाई महत्वपूर्ण अनुभवको रूपमा लिएको बताए।

महतोले रास्वपाले प्राप्त गरेको जनादेश केवल सत्ता परिवर्तन नभई जनताको मौन असन्तोष र नयाँ राजनीतिक विकल्पको खोजीको अभिव्यक्ति भएको उल्लेख गर्दै राज्यको सोच, कार्यशैली र संरचनामा सकारात्मक रूपान्तरण आवश्यक रहेको बताए। साथै लोकतन्त्र, समावेशिता र संघीयताको सुदृढीकरणका लागि आफ्नो पार्टी सधैँ रचनात्मक र जिम्मेवार भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय