पर्सामा रास्वपाको ऐतिहासिक ‘क्लीन स्वीप’, चारै क्षेत्रमा पुराना दल पराजित

spot_img

बीरगन्ज, २४ फागुन । पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विजयी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक ‘क्लीन स्वीप’ गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आइतबार बिहान सार्वजनिक अन्तिम परिणामअनुसार पर्सा क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन्।

यसअघिका निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेस केन्द्रित दलहरूले जित्दै आएको पर्सामा यसपटक भने ती दलहरूको प्रभावलाई तोड्दै रास्वपाले सबै क्षेत्रमा जित हात पारेको हो। २०७९ को निर्वाचनमा पर्साका चारमध्ये दुई क्षेत्रमा कांग्रेस, एकमा एमाले र एकमा जसपा नेपाल विजयी भएका थिए भने २०७४ मा मधेस केन्द्रित दलहरूले अधिकांश क्षेत्र जितेका थिए।

यसपटकको निर्वाचनमा भने कांग्रेसका तीन जना पूर्वमन्त्री र एमालेका एक जना पूर्वमन्त्री चुनावी मैदानमा भए पनि उनीहरू सबै रास्वपाका उम्मेदवारसँग पराजित भएका छन्।

पर्सा–१ मा रास्वपाका बुद्धि प्रसाद पन्त (हरि पन्त) २७ हजार २७४ मत प्राप्त गर्दै विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजार २४४ मतान्तरले पराजित गरेका हुन्। यादवले १३ हजार ३० मत पाउँदा कांग्रेसका अनिल रुंगटा ११ हजार ८८५ मतसहित तेस्रो स्थानमा रहे।

पर्सा–२ मा रास्वपाका सुशील कुमार कानु ३० हजार ७४० मतसहित निर्वाचित भएका छन्। उनले कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसियालाई १८ हजार ८५० मतान्तरले पराजित गरेका हुन्। चौरसियाले ११ हजार ८९० मत पाउँदा एमालेकी रिमा कुमारी यादवले ११ हजार ६०५ मत प्राप्त गरिन्।

पर्सा–३ मा रास्वपाका रामाकान्त चौरसिया २९ हजार ६७९ मतसहित विजयी भएका छन्। उनले कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीलाई १३ हजार ३१३ मतान्तरले हराए। चौधरीले १६ हजार ३६६ मत पाउँदा एमालेका रुपेशकुमार पाण्डेयले ११ हजार ९१४ मत प्राप्त गरे।

पर्सा–४ मा पनि रास्वपाका टेक बहादुर शाक्य २८ हजार ६ मतसहित निर्वाचित भएका छन्। उनले कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश रिजाललाई १५ हजार ४७२ मतान्तरले पराजित गरे। रिजालले १२ हजार ५३४ मत पाउँदा एमालेका जालिम मियाँ मन्सुरीले १२ हजार १४५ मत प्राप्त गरे।

यसरी पर्साका चारवटै निर्वाचन क्षेत्रमा जित निकाल्दै रास्वपाले जिल्लामा नयाँ राजनीतिक समीकरण स्थापित गरेको विश्लेषण गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय