सर्लाहीको बलरामा कांग्रेस नेता डा. सिन्हामाथि आक्रमण

spot_img

सर्लाही,२४ फागुन । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।

आइतबार मध्यान्ह करिब १२ बजेतिर बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा सिन्हामाथि आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिएका छन्।

सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा केही व्यक्तिहरूले गाडीलाई लक्षित गरी इट्टा प्रहार गरेको उनका नाति शनि कुमार सिंहले बताएका छन्।

आक्रमणमा गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झा संलग्न रहेको आरोप लगाइएको छ। गोपेशकुमार सिंह रास्वपाबाट सर्लाही–४ मा निर्वाचित सांसद अमरेशकुमार सिंहका भतिजा रहेको बताइएको छ।

इट्टा प्रहार रोक्ने क्रममा सिन्हाको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

यस घटनालाई लिएर नेपाली कांग्रेसले ज्यान लिने उद्देश्यले आक्रमण भएको आरोप लगाउँदै दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय