चुनावपछि नेप्सेमा उत्साह: लगातार तेस्रो सकारात्मक सर्किट लागेपछि कारोबार बन्द

spot_img

काठमाडौं,२५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो कारोबार दिनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगानीकर्ताको उत्साह देखिएको छ। बजारमा तीव्र वृद्धि भएपछि आज लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै दिनभरको कारोबार स्थगित गरिएको छ।

आज नेप्से परिसूचक १६२.९३ अंकले बढेर २,८७५.४३ बिन्दुमा पुगेको छ, जुन करिब ६ प्रतिशतको वृद्धि हो।

बजार खुल्नेबित्तिकै नेप्सेमा तीव्र उकालो देखिएको थियो। कारोबार सुरु भएको केही समयमै परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सकारात्मक सर्किट लाग्दै २० मिनेटका लागि कारोबार रोकिएको थियो।

पछि ११:२१ बजे पुनः कारोबार खुल्दा एक मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लाग्यो। परिसूचक ५ प्रतिशतले बढेपछि नियमानुसार ४० मिनेटका लागि कारोबार रोकियो।

त्यसपछि १२:०१ बजे परिसूचक ६ प्रतिशतले बढ्दै तेस्रो सकारात्मक सर्किट लागेपछि बाँकी दिनका लागि सम्पूर्ण कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

हालको ‘सर्किट ब्रेकर’ व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से ४ प्रतिशतले बढे वा घटेमा २० मिनेट कारोबार रोकिन्छ। दोस्रो घण्टामा ५ प्रतिशत परिवर्तन भएमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछि ६ प्रतिशत परिवर्तन भएमा दिनभरको कारोबार स्थगित गरिन्छ।

आजको कारोबारमा २६१ कम्पनीका ११ लाख ४३ हजार ७६७ कित्ता शेयर ४,०५१ पटक किनबेच हुँदा कुल ५५ करोड ५९ लाख ६३ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत रुपमा बैंकिङ ६.९२ प्रतिशत, विकास बैंक ५.९१ प्रतिशत, वित्त ५.४७ प्रतिशत, होटल तथा पर्यटन ५.७३ प्रतिशत, जलविद्युत् ६.८१ प्रतिशत र लगानी समूह ७.०६ प्रतिशतले बढेका छन्।

यसैगरी जीवन बीमा ४.६७ प्रतिशत, उत्पादन तथा प्रशोधन ५.३० प्रतिशत, लघुवित्त ४.०७ प्रतिशत, म्युचुअल फन्ड ०.१८ प्रतिशत, निर्जीवन बीमा ३.७४ प्रतिशत, व्यापार ७.७३ प्रतिशत र अन्य समूह ५.५६ प्रतिशतले वृद्धि भएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय